आईएफआरसीको महासचिवमा जगन चापागाईँले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाले

काठमाडौं : विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको संगठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेका छन्।

उनी दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुन्। ​पहिलोपटक सन् २०२० फेब्रुअरी २ मा चापागाईँले चारवर्षे कार्यकाल सम्हालेका थिए। स्विट्जरल्याण्डको जेनेभामा गत वैशाखमा सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्षअघि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः समयावधि थप गर्ने निर्णय गरेको थियो।

बोर्डमा विश्वका २९ देश सहभागी हुने जनाइएको छ। अब चापागाईँ सन् २०२८ को जनवरीसम्म  आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहनेछन्।

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए। आईएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई अनवरत रूपमा मानवीय सहयोग गरिराखेको छ। महासचिव चापागाईँले मानवीय सेवाका क्षेत्रमा पुर्‍याएका काम तथा कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाउँदै आएको छ।

 

Comments are closed.