अन्डर नाइन्टिन महिला साफ च्याम्पियनसिप: नेपालले भुटानलाई १-० ले हरायो

काठमाडौं । अन्डर नाइन्टिन महिला साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई १-० गोलले पराजित गरेको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा नेपालले पहिलो जित दर्ता गरेको हो ।
खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । नेपालको एउटा प्रहार गोल भए पनि रेफ्रीले अफसाइड करार गरिदिएका थिए । बाँकी समयमा गोल हुन सकेन । दोस्रो हाफमा पनि नेपालले मुस्किलले गोल गर्न सक्यो ।खेलको ५४औं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । उनले सुक्रिया मियाले मध्यभागबाट दिएको पासलाई गोलकिपर बिट गर्दै गोल गरेकी हुन् । खेलमा दबाब बनाए पनि नेपालले गोल थप्न सकेन ।
जितसँगै तीन अंक बटुलेको नेपालले फाइनलमा जाने सम्भावनालाई जीवितै राखेको छ । दुवै टिम पहिलो खेलमा पराजित भएको कारण आज जित दर्ता गर्नै पर्ने बाध्यता थियो । आजको हारसँगै भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान भारतसँग १०-० गोलले पराजित भएको थियो । नेपालले ३-१ गोलको नतिजा बंगलादेशलाई सुम्पिएको थियो ।

Comments are closed.