काठमाडौं । पूर्वसांसद एवं संविधानसभा सदस्य इच्छाराज तामाङ दम्पतीलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गरेको छ । अदालतले इच्छाराजलाई तीन वर्ष जेल सजाय र करिब ३ अर्ब रुपैयाँ जरिवानाको तोकेको छ ।
उनकी पत्नी सिर्जना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतले आइतबार इच्छाराजलाई एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ । यस्तै सिर्जनालाई एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा डेढ वर्ष कैद सजाय सुनाएको हो ।
केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा डेढ वर्ष कैद सजाय भएको छ ।
पूर्वसांसद एवं संविधानसभा सदस्य इच्छाराज दम्पतीलाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको माघ ७ गते दोषी ठहर गरेको थियो । सजाय निर्धारण भने आज (आइतबार) भएको हो ।
सिभिल सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ घोटालाको अभियोगमा तानिएका तत्कालीन र वर्तमान सञ्चालक तथा कर्मचारीविरुद्ध ठगी मुद्दा चलाइएको थियो । सहकारीको सम्पत्ति अपचलन गरी अन्यत्रै लगानी गरिएको कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो ।
अदालतले जरिवाना असुलका लागि दोषी ठहरिएका व्यक्ति तथा मीना श्रेष्ठ, प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङका नाममा रहेको सम्पत्तिसमेत जफत गर्ने फैसला गरेको छ । दोषी ठहर भएका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा प्रतिवादी उपर कसुर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने आदेश पनि विशेष अदालतले गरेको छ ।
सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा दायर भएको मुद्दामा उनीहरू दोषी ठहर भएका हुन् । इच्छाराज दोस्रो संविधानसभामा एमालेको तर्फबाट सदस्य भएका थिए ।
Comments are closed.