भिजिट भिसामा मानव तस्करी: अध्यागमन अधिकृतसहित चार जनालाई थुनामा पठाउन आदेश

काठमाडाैं । सेटिङ मिलाई भिजिट भिसामा नेपालीलाई विदेश पठाई मानव तस्करीमा सघाएको आराेपमा काठमाडौं जिल्ला अदालतले अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले मंगलबार अध्यागमन अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तामाङ र यादव ट्राभल सञ्चालक हुन् भने दाहाल बिचौलिया हुन् ।
साे काण्डमा अदालतले अन्य ६ जनासँग धरौटी मागेको छ । अदालतले गीता शाहसँग ५ लाख, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग समान ७-७ लाख र रविन अर्यालसँग १ लाख धरौटी माग गर्ने आदेश दिएको हाे ।
भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध यही माघ १८ गते मुद्दा दायर भएकाे थियाे । सरकारी कागजात कीर्ते गरी संगठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो, अधिकृत खड्कासहितलाई प्रहरीले मंसिर २८ गते पक्राउ गरेकाे थियाे ।

 

Comments are closed.