वेष्ट इण्डिजविरुद्ध टी–२० शृंखला: पहिलो खेलमा अष्ट्रेलिया विजयी, पाहुना टोली ११ रनले पराजित

काठमाडौँ : वेष्ट इण्डिजविरुद्धको टी–२० अन्तरराष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलिया विजयी भएको छ।

जितका लागि अष्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेष्ट इण्डिज निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०२ रनमा समेटिएपछि ११ रनले पराजित हुन पुग्यो।

वेष्ट इण्डिजका लागि ब्र्याण्डन किङले सर्वाधिक ५३ रन जोडे। जोन्सन चार्ल्सले ४२ रन तथा जेसन होल्डरले ३४ रन बनाए पनि अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

त्यसअघि बेलेरिभ ओभल होबार्टमा टस हारेपछि शुरुवाती ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो।

अष्ट्रेलियाका डेविड वार्नरले सर्वाधिक ७० रनको योगदान गरेका छन्। जोश इङ्लिसले ३९ रन बनाउँदा टिम डेभिड ३७ रनमा अविजित रहे। कप्तान मिचेल मार्सले १६ रन तथा मार्कस स्टोइनिसले ९ रन जोडे।

जितसँगै अष्ट्रेलियाले सिरिजमा १–० को अग्रता बनाएको छ।

अष्ट्रेलिया भ्रमणमा रहेको वेष्ट इण्डिजले घरेलु टोलीसँग ३ ओटा टी–२० आई सिरिज खेल्नेछ।

दोस्रो खेल पर्सि आइतवार हुनेछ।

Comments are closed.