मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अनेरास्ववियुद्वारा देशभरका क्याम्पसमा प्रदर्शन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै अनेरास्ववियुले देशभरका क्याम्पसमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुका कार्यकर्ताले बिहीबार बिहान नौ बजे देशभरिका क्याम्पस अगाडि थोत्रा टिन, ड्रम तथा थाल बजाएर प्रदर्शन गरेका हुन् ।
बालकुमारीमा प्रहरीले गोली हान्दा दुई जना युवाको ज्यान गएको घटनाको छानबिन गर्न बनेको आयोगले दोषी ठहर गरेका मन्त्री ज्वालालाई निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थीले सरकारका विरुद्ध प्रदर्शन गरेका हुन् । विद्यार्थीले सिंहदरबारमा थन्केको बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
सो घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाकै कारणले घटना भएको निष्कर्ष निकालेको छ । आयोगले ज्वाला र अन्य संलग्नलाई कारबाहीको सिफारिस गरेको छ ।
कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका युवाको भिडमा सरकारी गाडी लिएर आन्दोलन बिथोल्न मन्त्री ज्वाला गएपछि भिड उत्तेजित भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर सुजन राउत र वीरेन्द्र शाहको ज्यान गएको थियो । घटना पछि युवाहरूले ज्वाला चढेको सरकारी गाडी जलाइदिएका थिए ।
अनेरास्ववियुले आयोगले प्रतिवेदन बुझाएपछि त्यसको कार्यान्वयन माग गर्दै आन्दोलन सुरु गरेको छ ।

Comments are closed.