कांग्रेस महासमिति बैठक : सुझाव पेस हुँदै तथा आजै समापन गरिँदै

काठमाडाैं । फागुन ७ गतेदेखि ललितपुरकाे गाेदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको चाैथाे तथा अन्तिम दिन आज समूहगत छलफलबाट प्राप्त सुझाव पेस गरिने भएकाे छ ।

विभिन्न ५ वटा प्रतिवेदनमाथि समूहगत छलफलबाट प्राप्त सुझाव महासमिति बैठकको अन्तिम दिन आज बिहान पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा पेस गर्न लागिएकाे छ । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयाे ।
बुधबारकाे बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्री समेत रहनुभएका नेता डा. प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि समूहगत रुपमा छलफल भएको थियाे ।
समूहगत छलफलका क्रममा सबै जिल्लाका जिल्ला सभापतिहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्नो विचार राखेका थिए । छलफलमा गोदावरी हल समूहबाट ११०, विशंखुनारायण हल समूहबाट ९५, फूलचोकी हल समूहबाट ९० र कोन्ज्योसोम हल समूहबाट ९० जना महासमिति सदस्यहरुले आफ्नो विचार राखेका थिए ।

Comments are closed.