प्रधानमन्त्री र मन्त्रीहरुले राजीनामा दिए हुन्छ, कर्मचारीले देश चलाउँछन् : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले काम गर्न नसक्ने भए तत्काल राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्री प्रचण्डमा कुनै भिजन नभएकाे बताउनुभयाे । देश चलाउन नसके राजीनामा दिएर घर बस्न प्रधानमन्त्रीलाई चुनाैती दिँदै उहाँले सचिव र मुख्यसचिवहरुले देश चलाउने बताउनुभयाे । ‘प्रधानमन्त्री बनेकाे १ वर्ष भइसक्याे, न कुनै भिजन छ, न कुनै नीति छ, अनि झण्डा हल्लाएर किन बस्ने ? राजीनामा दिएर घर बस्नुस् अहिलेपनि सरकारी सचिव र मुख्यसचिव देश चलाइहाल्छन्’- शाहीले भन्नुभयाे ।

देश झन्झन् गरिबी भएकाे, अघिल्लाे वर्षकाे तुलनामा बेरुजु ९ प्रतिशतले बढेकाे, भ्रष्टाचार झन् बढेकाे, ६ महिनामा ३ लाख ३२ हजार ६ सय ९१ जनाले विदेश जाने अनुमति पत्र लिएका भन्दै उहाँले यही अवस्था रहे १ वर्षमा ९ लाख मानिसले देश छाेड्ने खतरा रहेकाे बताउनुभयाे । उनीहरुलाई देशमा राेक्ने नीति सरकारसँग नभएकाे प्रमुख सचेतक शाहीले बताउनुभयाे । ‘यहाँहरु भन्नुहुन्छ देश बनिसक्याे, ५ खर्ब रुपैयाँ साधारण खर्च छ याे ७ महिनामा जम्मा ५३ अर्ब रुपैयाँ पुँजीगत खर्च छ, अन विकास निर्माण अलपत्र पर्दैनन्, आजकाे मितिसम्म विदेश गएका १० हजार ३२ जना नेपाली राताे बाकसमा फर्के, काम गर्न नसके प्रधानमन्त्री मन्त्री किन बन्ने ? प्रधानमन्त्री मन्त्री नबनेपनि देश चल्छ, कर्मचारीले पहिला पनि चलाएका थिए अहिलेपनि चलाउँछन्’- उहाँले भन्नुभयाे ।

अहिलेकाे संसदीय व्यवस्था पूर्ण रुपमा असफल भइसकेकाे भन्दै प्रमुख सचेतक शाहीले यसतर्फ साेच्नुपर्ने बेला आएकाे बताउनुभयाे ।

ललिता निवास काण्डमा निर्णय गर्ने पूर्व मन्त्रीहरुलाई कारबाही नगरिएकाेमा आपत्ति जनाउँदै उहाँले भन्नुभयाे – ‘ललिता निवासकाे सरकारी जग्गा निजी बनाएर मन्त्रिपरिषद्‍बाट निर्णय गर्ने तत्कालीन पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईले उन्मुक्ति पाउने, व्यापारीलाई ब्याकमेलका लागि पक्राउ गर्ने ? याे कानुनी राज्य हुन सक्दैन ।’
बालकुमारी घटनालाई प्रधानमन्त्री प्रचण्डले फागुन ६ गतेकाे बैठकमा हत्या भनेर सम्बाेधन गरेकाे भन्दै उहाँले साे हत्यामा संलग्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भाैतिकमन्त्री प्रकाश ज्वाला र गाेली चलाउने डीएसपीलाई कारबाही गर्न माग गर्नुभयाे । सदनमा जे पनि नबाेल्न समेत शाहीले प्रधानमन्त्रीलाई चेतावनी दिनुभयाे ।

Comments are closed.