काठमाडौं । प्रकृतिका पुजारी माझी समुदायले नदी अर्थात् लदी पूजा मनाएका छन् । हरेक वर्ष फागुनको तेस्रो मंगलबार मनाइने लदी पूजा माझी समुदायले नदीको पूजा गरेर मनाएका छन् । नदीसँग जीवनको सम्बन्ध गाँसिएकोले नदीले रिसाएर दुःख नदिउन्, कुनै घटना वा दुर्घटना नहोस् भनी माझी समुदायले नदीको पूजा गर्दै आएका छन् । जसलाई माझी भाषामा लदी पूजा भनिन्छ ।
नदीमा माछा मार्ने र डुङ्गा चलाएर जीवन बिताउने माझी समुदायका हरेक क्रियाकलाप नदीसँग नै जोडिएका हुन्छन् । नदी किनारमा बसोबास गर्ने माझी समुदायको जन्मदेखि मृत्युसम्मको संस्कार नदीसँग जोडिन्छ । त्यसैले उनीहरूको नदीसँगको सम्बन्धलाई मामा–भाञ्जाको सम्बन्धको रूपमा लिने गरिन्छ । नदीलाई मामा र माझीलाई भाञ्जा भन्ने गरिन्छ ।
माझी समुदायले नदीलाई देवताको मान्ने गर्दछन् । यसै चलनको एउटा संस्थागत अभ्यास र उच्चतम विश्वासको प्रतिरूप लदी पूजालाई लिइन्छ । लदी पूजाको दिन सबैले नुहाउने, घर लिपपोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आआफ्नो घरबाट नजिकको नदीमा सबै भेला भएर सामूहिक रूपमा पूजा गरी यो पर्व मनाइन्छ ।
नदी किनारमा बनाइएको पूजा थानमा बली सहित फूल अक्षता र चढाइ पूजाआजा गरिन्छ । त्यस पछि भोज खाएर रमाइलो गरी नाचगान गरिन्छ । सो पर्वको अवसरमा अन्य क्षेत्रमा जस्तै रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी ढोडेनीमा माझी समुदायले विशेष पूजा गरेको माझी समुदायका अभियन्ता बालकृष्ण माझीले जानकारी दिनुभयो । स्थानीयले पाठी, परेवा, भाले, कुखुरा, अण्डा, नैवेद, फूलपाती जम्मा गरेर नदी पूजा गरेका उहाँले बताउनुभयो ।
पूर्व, मध्य र मधेसका नदी किनारमा माझी समुदायको बसोबास रहेको छ । विगतमा डुङ्गा चलाउने र माछा मार्ने प्रमुख पेसा रहेको माझी समुदाय विज्ञान र प्रविधिको विकाससँगै आफ्नो पुर्ख्यौली पेसाबाट विमुख हुँदै गएको छ । वातावरण परिवर्तन र जलाशय युक्त ठुला आयोजनाका कारण माझी बस्ती समेत संकटमा पर्न लागेका छन् । आफ्नो जातीय पहिचान र थाक थलो जोगाउन नेपालका माझ समुदाय अहिले संघर्षरत छन् ।
Trending Now
- रास्वपाले रवि लामिछानेबारे मानव अधिकार आयोगमा पत्र बुझायो
- शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
Comments are closed.