राष्ट्रिय एकताको सन्देश दिन सफल भएको छ चितवन:प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनबाट राजनीतिक दलहरू राष्ट्रिय एकताको सन्देश दिन सफल भएको बताउनुभएको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्री एक ठाउँमा उभिएर राष्ट्रिय एकताको सन्देश दिन सफल भएको बताउनुभयो । यो राष्ट्रिय राजनीतिको लागि पनि नयाँ सङ्केत भएको दाहालले प्रष्ट पार्नुभयो ।

दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण भएको उहाँको धारणा छ ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभयो । वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखी अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताउनुभयो ।

भ्रमण वर्ष कार्यक्रमले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रचण्डले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताएको पर्यटन क्षेत्रलाई राष्ट्रिय स्तरमा उकास्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Comments are closed.