राष्ट्रिय सभामा निर्वाचित १९ सांसद्को शपथ आज

काठमाडाैं । राष्ट्रिय सभामा निर्वाचित १९ सांसद्ले आज पद तथा गाेपनीयताकाे शपथ लिँदैछन् ।

गत माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएका १९ सांसद्ले बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम राखिएकाे हाे । रिक्त हुने २० मध्ये माघ ११ मा सम्पन्न चुनावबाट निर्वाचित भएका १९ जनाले शपथ लिन लागेका हुन् ।

१ जना सदस्य भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ ।

राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि सकिएको छ।  उनीहरुले २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेका हुन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा एमालेका सांसद्हरु दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राईको पदावधि सकिएको हो ।

कांग्रेसका चार सांसद् रमेशजंग रायमाझी, अनीता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थकाे पनि कार्यकाल सकिएकाे छ । माओवादी केन्द्रका ३ सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा पनि बिदा हुनुभएकाे छ ।

एकीकृत समाजवादीका नन्दा चापाईं, सिंहबहादुर विश्वकर्मा पनि बिदा हुनुभएकाे छ । स्वतन्त्रबाट खिमलाल देवकोटा, जसपाकी प्रमिलाकुमारी र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको कार्यकाल पनि सकिएको छ ।

Comments are closed.