नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौँ : चीन

काठमाडौं । चीनले नेपालमा नयाँ सरकार गठन भएकोमा चासो प्रकट गरेको छ ।

चिनियाँ परराष्ट्र प्रवक्ता माओ निङले चीनले नेपालमा एकता र सहकार्य गरेर नयाँ सरकारको गठन कार्य सहज रूपमा अगाडि बढ्ने आशा प्रकट गरेकी छन् ।

नेपालले हालै नयाँ सत्ता गठबन्धन गठन गरेको र मन्त्रिपरिषद् पुनर्गठन गरेकोबारे उनले भनिन्, ‘नयाँ सरकार गठनसम्बन्धी कार्यलाई सहज रूपमा अघि बढाउन र राजनीतिक स्थायित्व, आर्थिक विकास र जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपालका सबै दल एकताबद्ध भई सहकार्य गर्ने विश्वास छ ।’

उनले एक मैत्रीपूर्ण छिमेकी र सहयोगी साझेदारको रूपमा चीन चीन–नेपाल सम्बन्धलाई निकै महत्त्व दिने बताउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको पालना गर्न, परम्परागत मित्रता अभिवृद्धि गर्न, व्यवहारिक सहयोगलाई प्रगाढ बनाउन र आगामी पुस्ताका लागि चीन–नेपालको रणनीतिक सहयोगात्मक साझेदारी प्रवर्द्धनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताइन् ।

उनले भनिन्, ‘विकास र समृद्धितर्फ उन्मुख हुन र दुई देशका जनताका लागि थप लाभ सिर्जना गर्न थप विकास गर्न नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार छ ।’

Comments are closed.