काठमाडौँ– काठमाडौँ उपत्यका प्रहरी परिसरले आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने हेतुले प्रहरीको क्विक रेस्पोन्स टिम (ई–क्यूआरटी) परिचालनमा ल्याएको छ।
मंगलबार प्रहरी परिसरको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच क्यामरासहितको प्रविधि जडित ई–क्यूआरटी सेवा सञ्चालनमा ल्याएको घोषणा गरिएको हो। उपत्यकाभित्र नागरिकलाई शान्ति सुव्यवस्था कायम गर्न र अपराध नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले प्रहरीको क्यूआरटी सञ्चालनमा ल्याइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए।
उनले भने, “समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न अपराध अनुसनधान गर्ने क्रममा नेपाल प्रहरीले विभिन्न पद्धति अपनाउँदै आएका छौं। ई–क्यूआरटीले समाजमा शान्ति सुव्यवस्था कायम गरि शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा लिएका छौँ।”
थापाले कुनै पनि अपराधको वस्तुनिष्ट, वैज्ञानिक तथा प्रविधियुक्त अनुसन्धान गर्न ई–क्यूआरटी सेवा महत्त्वपूर्ण हुने बताउँदै यसअघि प्रहरीले चलाएका साइकल गस्ती, आरआरटी, पैदल गस्तीहरू भन्दा नयाँ सेवा प्रभावकारी हुने उल्लेख गरे।
“हामीले साइकल गस्ती, पैदल गस्ती, आरआरटी लगायत माध्यमबाट घटनाको अनुसन्धान गरिसकेका छौँ। घटना भएको जानकारी आएपछि प्रहरी घटनास्थल कति बजे पुग्यो भन्ने आम चासोको विषय हुन्छ। कति जना आयो सरोकार हुँदैन। काठमाडौँका प्रहरीका सबै विभाग र विटहरुमा रहेका मोटरसाइकलमा ई–क्यूआरटी जडित गर्ने प्रयास भइरहेको छ,” उनले भने, “काठमाडौँ प्रहरी परिसरले यसका लागि काम गर्नेछ। प्रहरी घटनास्थल पुगे नपुगेको जानकारी लागि लोकेसन र क्यामरासमेत बाइकमै जडान गरिनेछ।”
नेपाल प्रहरीको क्विक रेस्पोन्स टिमलाई चुस्तदुरुस्त बनाउन राजमार्ग तथा शहरी क्षेत्रमा घटना भएको १० मिनेटभित्र प्रहरी घटनास्थलसम्म पुग्ने व्यवस्था मिलाइने थापाको भनाइ थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी भुपेन्द्रबहादुर खत्रीले क्विक रेस्पोन्स टिममा काठमाडौँ जिल्लाभर पहिलो चरणमा ६० वटा मोरटसाइकल २४ सै घन्टा फिल्डमा परिचालन हुने बताए। “कुनै पनि घटनाका विषयमा प्रहरीको कन्ट्रोलमा खबर आएपछि पहिलो रेस्पोन्सको रूपमा ती टोली खटिने छन्,” उनले भने, “अहिले परिचालन हुने टोलीसँग आफ्नो सुरक्षासहित अपराध नियन्त्रणका लागि आवश्यक प्रविधि पनि हुनेछन्।”
प्रहरीलाई खबर भए लगत्तै जतिसक्दो छिटो घटनास्थलमा पुग्नका लागि प्रभावकारी हुने उनले बताए। उक्त क्यूआरटी टोली खटिएको ठाउँका जानकारी परिसरमै रहेको कन्ट्रोल रूमले जीपीएस ट्रयाकरको सहयोगमा हेर्न सक्ने बनाइएको छ। टोलीमा खटिने प्रहरी कर्मचारीलाई व्यक्तिगत सुरक्षाका सामग्री पनि उपलब्ध गराइएको छ।
Comments are closed.