नयाँ गठबन्धन हामीले बनाएका हाैं, चीनले हाेइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बर्बाद हुनबाट रोक्न नयाँ गठबन्धन बनाइएकाे बताउनुभएकाे छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सरकारमा जाने हतारोले भन्दा पनि देश बर्बाद भएकाे हेरेर बस्न नसकेर नयाँ गठबन्धन बनाउनुपरेकाे बताउनुभयाे ।

अघिल्लो गठबन्धनलाई आफूले खरानीको डल्लो भएकाले फुट्ने बताएको स्मरण गराउँदै उहाँले उक्त गठबन्धन खरानीको डल्लो नै प्रमाणित भएको बताउनुभयाे । अघिल्लो गठबन्धन भत्काउनुमा चीनलाई दोष दिने गरेको भन्दै अध्यक्ष ओलीले चीनले नभई एमालेले एकल रूपमा भत्काएको प्रष्ट पार्नुभयाे । ‘गठबन्धनमा हुनेहरुकाे उन्माद थियाे, देशको बर्बादि रोक्न गठबन्धन हामीले फुटायौं, चीनले गर्‍याे भन्दैछन्’-

उहाँले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे कदम निकै राम्रो भएको बताउनुभयाे । अहिलेको समीकरण जनमुखी भएकाे भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिनुभयाे ।

प्रधानमन्त्रीमाथिको विश्वासको मत असफल भए ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएकाले अल्पमतको अयोग्य सरकार बन्नबाट रोक्नुपर्ने पनि उहाँले बताउनुभयाे ।

Comments are closed.