इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिन्छ ।
रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरामी, गर्भवती महिला र अशक्तलाई भने रोजा बस्न छुट छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।
पवित्रता र पूण्यको पर्व
मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ ।
यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब-दुःखीको सेवा । एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित । त्यसैले रमजानलाई पवित्रता र पूण्यको पर्व मानिन्छ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो ।
रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन ईद अर्थात ईदउल फित्रका रूपमा मनाउने गरिन्छ ।रमजानको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले यो पर्वले मुुलुकको आन्तरिक राष्ट्रियता सुदृढ र विकासमा एकताबद्ध हुन थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य साकार पार्न र मौलिक पहिचानको संरक्षणमार्फत् आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सदैव प्रतिबद्ध रहेको उल्लेखसमेत गरेका छन् ।
Comments are closed.