राष्ट्रिय सभाका २ समिति सभापति निर्वाचित हुँदै

काठमाडौं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिले आज सभापति पाउँदैछन् । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउन लागेको हो ।
ती समितिहरुका सभापतिका लागि शनिबार मनोनयन दर्ता भएको थियो । दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।उनीहरु एकल उम्मेदवार भएकाले आइतबार निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ ।प्रमुख चार दल कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाका चार समितिहरुमध्ये एक-एक वटाको सभापति भागबन्डा गरेर लिएका छन् ।
राष्ट्रिय सभाकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र विधायन व्यस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्तीदेवी राई सभापति छन् । उनीहरुको कार्यकाल बाँकी भएकाले समितिको सभापतिमा निरन्तरता पाएका छन् ।दिगो विकास तथा सुशासन समितिको सभापतिमा यसअघि कांग्रेसका प्रकाश पन्थ सभापति थिए । उनको कार्यकाल गत २० फागुनमा सकिएपछि कांग्रेसकै भागबाट कमला पन्तको एकल उम्मेदवारी दर्ता भएको हो ।शनिबार मनोनयन दर्ता गर्दा कांग्रेस सांसद पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट र समर्थकमा एमाले सांसद शारदादेवी भट्ट रहे ।यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा यसअघि नेकपा एमालेकी दिलकुमारी रावल (थापा) सभापति थिइन् । उनको पनि कार्यकाल पनि २० फागुनमै सकिएकाले सो समितिको सभापतिमा एमालेकै सोनाम ग्याल्जेन शेर्पाको एकल उम्मेदवारी दर्ता भयो ।
शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी तथा समर्थकमा नेपाली कांग्रेसका दुर्गा गुरुङ र एमालेका इन्दिरादेवी गौतम छन् ।राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार यसअघि सभापति रहेकाहरुलाई निरन्तरता दिएर बाँकी दुइटामा यसअघि जसका थिए सोही दलले पाउने गरी उम्मेदवारी दर्ता गराइएको हो ।एकल उम्मेदवारी परेकाहरु स्वतः निर्वाचित भएको घोषणा आइतबार हुनेछ ।

Comments are closed.