मौका मिले राज्य प्रणाली र संविधान नै परिवर्तन गर्छौं:राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार चलाउने मौका मिले राज्य प्रणाली र संविधान नै परिवर्तन गर्ने बताएका छन् ।आगामी चैत २७ गते राजधानी केन्द्रित प्रदर्शन र आन्दोलनको तयारीस्वरूप मधेश भ्रमणका क्रममा रहेका अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले राप्रपाको मान्यताहरू उल्लेख नभएको संविधान नमान्ने बताए।
अध्यक्ष लिङ्देनले भने,‘मौका मिलेको अवस्थामा राज्य प्रणाली र संविधान नै परिवर्तन गछौं ।’देशले पुनः विद्रोहको बाटो व्यहोर्नु नसक्ने भएकाले मात्र संविधानसँग सहकार्य गरी आफ्नो मान्यता स्थापित गर्न लागिरहेको अध्यक्ष लिङ्देनको भनाई छ ।संघीयतालाई संस्थागत गर्न अग्रणी योगदान गरेको मधेसले गणतन्त्रबाट उपलब्धि नपाएको बरु संघीयताका कारण प्रताडित बनेको उनको टिप्पणी थियो ।
हिन्दुत्वको भावना बलियो रहेको मधेशले धर्मनिरपेक्षता घोषणाका कारण हिन्दुत्वमा संकट पैदा भएको बुझ्न थालेको र मियोका रूपमा राजतन्त्रको आवश्यक्ता महशुस गरेको उनले बताए ।मिटरव्याज, सहकारी, लघुबित्त, बैंक र बित्तिय संस्थाबाट मधेश पीडित रहेको र भ्रष्टाचार, बेरोजगारी बढेको उनको विश्लेषण थियो ।
गठबन्धनलाई स्वार्थको गठजोड बताएका लिङ्देनले सत्तालाई स्वार्थअनुकूल रक्षकवचका रूपमा प्रयोग गर्ने प्रधानमन्त्री नै अस्थिरतातर्फ गएपछि राप्रपा सत्तामा सामेल नभएको बताए ।उनले सरकार प्राथमिकताको विषय नरहेको तर प्रदेश सरकार गठनमा गणितिय हिसाबले राप्रपाको अनिवार्यता देखिए छलफल गर्न सकिने बताए । त्यस्का लागि कतैबाट औपचारिक प्रस्ताव भने नआएको उनले बताए ।

Comments are closed.