आईपीएलमा कोलकाता नाइट राइडर्सको ४ रनको रोमाञ्चक जित

काठमाडौं । इन्डिन प्रिमियर लिग आईपीएलअन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई चार रनले पराजित गरेको छ । कोलकाताको इडेन गार्डेन रंगशालामा सम्पन्न खेलमा हैदराबादले दुई सय ९ रनको लक्ष्य पूरा गर्न सकेन ।
सुरुआति ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय ८ रन बनाएको थियो। ओपनर सुनिल नरिन दुई, वेङ्कटेस अयस सात, श्रेयस अयर शून्य र नितिश राना नौ रनमा नै पवेलियन फर्किए । यससँगै कोलकाता ५१ रनमा नै महत्वपूर्ण चार विकेट गुमाएको कमजोर अवस्थामा पुगेको थियो। तर ओपनर फिल साल्टले ५४ रनको अर्धशतकीय पारी खेले भने रमनदीप सिंह ३५ रनमा सब्स्टिच्युट आउट भए। खेलमा अविजित रहेका आन्द्रे रसेलले ६४ रन बनाएपछि कोलकाताले ठूलो लक्ष्य प्रस्तुत गरेको हो।
हैदराबादका टी नटराजनले तीन तथा मयंक मार्कण्डेयले दुई विकेट लिए पनि कोलकातालाई सहजै रोक्न सकेनन्।
जवाफमा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै हैदराबादले दुई सय चार रन मात्र बनाउन सक्यो। ओयनर मयंक र अभिषेक शर्माले ३२-३२ रन बनाए। उनीहरुले ६० रनको साझेदारी गरेर राम्रो सुरुआत गरेका थिए। राहु्ल त्रिपाठीले २० र एडन मारकरमले १८ रन बनाए पनि उनीहरुले खेलको रन रेट ध्यानमा राखेर खेल्न सकेनन्। पाँचौं नम्बरमा मैदान प्रवेश गरेका हेनरिक क्लासेनले ६३ रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन । घरेलु टिमलाई विजयी बनाउन हर्षित रानाले तीन र आन्द्रे रसेलले दुई विकेट लिए । रसेल खेलको प्लेयर अफ दि म्याचसमेत बने।
आईपीएलअन्तर्गत आज दुई खेल हुनेछन्। दिउँसो पौने ४ बजे सुरु हुने खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्टको सामना गर्ने छ भने राति पौने ८ बजेको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्ससँग खेल्नेछ। अघिल्लो वर्ष गुजरातको कप्तानी गरेका हार्दिक पाण्ड्या यो वर्ष मुम्बई फर्किएका छन्। यसकारण पनि यी दुई टोलबीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Comments are closed.