काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणका आरोपित जीबी राई भगाएको आरोपको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने बताएका छन् ।शनिबार चितवनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएका थिए । शनिबार कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताएका हुन् ।
‘गृहमन्त्रीले नै यसअघिको सरकारले जीबी राईलाई भगाएको आरोप लगाउनु भएको छ । योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो’ उनले भने ।महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाण आफूहरुसँग रहेको भन्दै संसदीय छानबिनका आधारमा त्यसलाई गलत प्रमाणित गर्न चुनौती दिए ।‘प्रमाण खोज्न कही जान पर्दैन । सरकारी अड्डामा गएर तथ्य केलाए हुन्छ । यही तथ्य प्रमाणका आधारमा प्रमाणित हुन्छ । यसलाई संसदीय समितिबाट आधारहीन छन् भनेर प्रमाणित गर्न चुनौती दिन्छौं । तपाईंहरूकै बहुमत छ गलत हुन भनेर सावित गर्न चुनौती छ’, थापाले भने ।
Comments are closed.