काठमाडौँ : यसपटक बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा कलामय बनेको छ। मकवानपुरको हेटौँडा र आसपासका क्षेत्रमा बिहीवारदेखि ‘हेटौँडा कला महोत्सव’ सुरु भएसँगै हेटौँडा कलामय बन्न पुगेको हो। महोत्सव मानव सेवाप्रति समर्पित गरिएको छ।
शनिवारीय स्थलगत कला कार्यशाला अभियानको आयोजनामा यही ५ गतेसम्म चल्ने कला महोत्सवले हेटौँडालाई कला गतिविधिमा अब्बल बनाउँदै कला नगरीकारुपमा स्थापित गर्ने आशा गरिएको छ।
महोत्सवको बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले उद्घाटन गरेका थिए। उनले महोत्सवले हेटौँडाको कला संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्। सो क्रममा कला डेमोस्ट्रेसन पनि भएको थियो।
महोत्सवअन्तरगत आज शुक्रबार हेटौँडाको भुटनदेवी मन्दिरमा खुला चित्रकला कार्यशाला आयोजना गरिएको थियो। साँझ पुष्पलाल पार्कमा पनि कला कार्यशाला गरिएको महोत्सव संयोजक दिवेश प्रधानले जानकारी दिए।
उनका अनुसार भुटनदेवी र पुष्पलाल पार्क र त्यसआसपासका दृष्यलाई कलाकारले क्यान्भासमा उतारेका छन्। महोत्सवअन्तरगत भोलि शनिवार मनकामना डाँडा, पाथीभर हेटौँडा भ्यूटावर, गुम्बाडाँडा हर्नामाडी, मकवानपुर गढीलगायतको भ्रमण गरी २ बजेपछि शहिद स्मारकमा कला कार्यशाला, कला संवाद कार्यक्रम आयोजना गरिएको छ।
त्यहाँका दृष्य पनि कलाकारले क्यान्भासमा उतार्ने छन्। जेठ ६ गते भने मानवसेवा आश्रममा विशेष कार्यक्रम आयोजना गरिएको छ। जहाँ हेटौँडामा तीन दिन बनाइएका कला प्रदर्शनी गरिने छ।
कला महोत्सवले हेटौँडाको ऐतिहासिक साँस्कृतिक एवं पर्यटकीय गरिमालाई ललितकलाका माध्यामबाट संरक्षण एवं प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ। यसले हेटौँडाबासीमा कलाप्रेम जगाई रेथाने ललितकलाको ज्ञानलाई अभिलेखिकरण गरी जीवन्त राख्ने विश्वास गरिएको छ।
बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय संरक्षक रहेको महोत्सवमा हेटौँडा उपमहानगरपालिका सहआयोजकमा रहेको छ। महोत्सवमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठाननको समेत सहकार्य रहेको छ।
उक्त महोत्सवमा काठमाडौँबाट २५ सहित ५० भन्दा बढी कलाकारको सहभागिता रहेको कार्यक्रम संयोजक दिवेश प्रधानले जानकारी दिए। अहिलेसम्म प्रादेशिक राजधानी भएर पनि हेटौँडामा एउटा पनि कला प्रदर्शनी गर्ने ग्यालरी नै नभएको अवस्थामा कार्यक्रमले नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।
त्यस क्षेत्रमा कला र संस्कृतिप्रतिको जागरण ल्याउन महोत्सव गर्न लागिएको हो। महोत्सवमा कूल बिक्रीको ५० प्रतिशत रकम मानवसेवा आश्रमलाई सहयोग गरिने जनाइएको छ।
Comments are closed.