कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनू-सरकारलाई मेयर बालेनको आग्रह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बालेन्द्रले सङ्घीय सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले केन्द्र सरकारले काम गर्न समस्या खडा गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको मेयर बालेनको गुनासो छ ।मेयर बालेनले लेखेका छन्, ‘सङ्घीय संसद्को संयुक्त बैठकले, २०८० ज्येष्ठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइनेछ, भनेको थियो । यो व्यवस्था सुर्तीजन्य बस्तु, धूपमानजस्ता प्लास्टिकमा प्याक गरेका बस्तुका लागि पनि हो । आज ज्येष्ठ महिनाको ११ गते भइसक्यो । घोषणा गरेको कार्यक्रम कार्यान्वयनको कुनै सुरसार छैन । यसकारण हामी सङ्घीय सरकारलाई उक्त मिति सम्झाउन चाहन्छौँ ।ऐनले निषेध गरेका बस्तु जैविक खोलमा राखेर बेच्न मिल्ने हो कि होइन, सङ्घीय सरकार लक्षित यक्ष प्रश्न छ । जैविक खोलमा बेरेको सूर्तीजन्य बस्तुको प्रयोगले जनस्वास्थ्यमा असर नपार्ने हो भने यसको वैज्ञानिक प्रमाणिक तथ्य हामी पनि जान्न र बुझ्न चाहन्छौँ ।’
मेयर बालेनले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा बजेटमा उल्लेख गरेर पनि केन्द्र सरकारले बिर्सिएको बताए।

Comments are closed.