सिरोहियालाई फेरि थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न थप तीन दिन म्याद थपिएको छ । जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न फेरि तीन दिन म्याद थप गरेको हो ।अदालतका न्यायाधीश यदुराज शर्माको एकल इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दियो । मंगलबार पक्राउ परेका सिरोहियालाई यसरी शुक्रबार पनि तीन दिन म्याद थप्दै अनुसन्धान गर्न अदालतले समय दिएको थियो ।
उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि सिरोहिया प्रहरीको निगरानीमा तीन दिनदेखि काव्या अस्पताल उपचाररत छन् । उनलाई आज अस्पतालबाट एम्बुलेन्समा अदालत ल्याइएको थियो । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले गत मं‌गलबार साँझ पक्राउ गरेको थियो ।उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो । नागरिकता किर्ते प्रकरणमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको थियो ।

Comments are closed.