काठमाडौँ महानगरपालिकाका ४७३ विद्यालयद्वारा छात्रवृत्ति विवरण पेस

काठमाडौं । काठमाडौँ महानगरपालिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेस गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने१ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक सत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका हुन् ।

अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०,काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका भित्र सञ्चालित सबै संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रीतपूर्वक विद्यार्थीलाई वितरण गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था कार्यान्वयन गराउन पटक पटक महानगरले अनुरोध गर्दा ४७३ संस्थागत विद्यालयका १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएको विवरण प्राप्त भएको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए । उनकाअनुसार महानगरपालिकाले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलब्ध गराउन भनिएको छ ।

Comments are closed.