माछापुच्छ्रे बैंकका कर्मचारी बचतकर्ताको करोडौँ ठगेर फरार

रुपन्देही । माछापुच्छ्रे बैंक लिमिटेडको रुपन्देहीको मर्चवारस्थित माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रको जिम्मा पाएका कर्मचारीले बचतकर्ताले बचत गरेको रकम झ्वाम पारेका घटना बाहिरिएको छ । रुपन्देहीकै सम्मरीमाई गाउँपालिकामा भएको यस्तै प्रकृतिको घटना सेलाउन नपाउँदै बैंकको मर्चवारस्थित शाखाबाट पनि बचतकर्ता ठगिएका हुन् ।बचतकर्तालाई बैंकको छाप र सहि सहित भौचरसमेत दिइएको छ । तर सो रकम सिष्टममा इन्ट्री नै नभएकोले सो रकम बैंकको सिष्टममा देखिएन । आफ्नो रकम बैंकमा जम्मा गरेका बचतकर्ताले जव आफ्नो रकम अर्को शाखाबाट निकाल्न खोजे, तव बैंकमा पैसा नै नभएको थाहा पाएपछि बैंकको नाममा ठगी गरेका रमेश चौहानको हर्कतको पोल खुल्यो ।
रकम लिने, सिष्टममा इन्ट्री नगर्ने, आफैँ सो रकम चलाउने र बचतकर्तालाई बैंकको भौचरमा सहि छाप गरेर दिने गरिएको र यसरी करोडौं रुपैयाँ ठगिएको भन्दै पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालय र नेपाल राष्ट्र बैंक गुहारेपछि सो घटना बाहिरिएको हो ।
पीडितहरूले प्रशासनमा बुझाएको उजुरीमा रमेश चौहान नाम गरेका बैंकका कर्मचारीले ४५ जना बचतकर्ताबाट उठाएको रकम बैंकमा इन्ट्री नै नगरी आफैले चलाएर बचतकर्ता ठगेको उल्लेख छ ।
आफूले बचत गरेको रकम नपाएपछि बैंक पीडितहरूले रकम फिर्ता माग्दै भैरहवास्थित माछापुच्छ्रे बैंक घेरेका थिए । बैंकले भने सो रकम आफ्नो सिष्टममा इन्ट्री नै नभएकोले त्यसको जिम्मेवारी आफ्नो नहुने दाबी गरेपछि झन् उग्र भएका पीडीतहरुले आफूले माछापुच्छ्रे बैंकमा पैसा राखेको भन्दै आफ्नो बचत फिर्ता हुनुपर्ने सर्तसहित बैंकमा नाराबाजी गरेका थिए । बचतकर्ताको रकम लिएर चौहान भने फरार छन् ।
पीडितहरूका अनुसार यसरी ठगिनेमा ३०० भन्दा बढी बचतकर्ताहरू छन् । चौहान फरार भएपछि सो शाखारहित सेवा हाल बन्द छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बचतकर्ताको गुनासो आएको र यस विषयमा थप छानविन र छलफल भइरहेको बताएका छन् । उनका अनुसार बैंकको शाखारहित बैङ्किङको जिम्मा लिएका चौहान यसअघि पनि वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पुर्पक्षमा परेर फौजदारी अभियोग लागेका व्यक्ति भएको र उनका खाताहरू वैदेशिक रोजगार विभागको आदेशले बन्द भएकाले थप समस्या आएको दाबी गर्छन् । यद्यपि उनले माछापुच्छ्रे बैंकलाई सो समस्या समाधान गर्न आदेश दिइसकेको समेत बताएका छन् ।
यता स्थानीयहरुले भने बैंकले ठगलाई नै बैंकको जिम्मा दिँदा बचतकर्ताहरू ठगिएको भन्दै आक्रोश पोखेका छन् ।
यता बैंक भने सिष्टममा पैसा नआएकाले चौहान र पीडितहरूको व्यक्तिगत लेनदेन भनेर उम्किन खोजिरहेको छ । यसअघि समरीमाईमा भएको यस्तै घटनामा पनि बैंकले सिष्टममा पैसा नआएकाले सो रकमको जिम्मा बैंकले नलिने अडान लिएको थियो । यद्यपि पीडितहरूले आफ्नो रकम बैंक भनेर नै राखेका हुनाले बैंक यस्तो दायित्वबाट उम्कन नमिल्ने तर्क जिल्ला प्रशासन कार्यालयलेसमेत गरेपछि बैंक यो विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा आन्तरिक परामर्शमा छ ।

Comments are closed.