भिजिट भिसामा मान्छे पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ

काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् ।
कम्युटर अपरेटरको रुपमा २०७५ सालदेखि मन्त्रालयमा कार्यरत विष्टले गृहमन्त्री रवि लामिछाने उहाँको सचिवालय तथा गृहसचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ भन्दै असार २१ गते थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई दबाब दिएका थिए ।
प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरी मन्त्रालयमा सोधखोज गरेपछि विष्टको धन्दा सार्वजनिक भएको थियो । गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृहसचिव अर्यालले असार २५ गते विष्टलाई सेवाबाट हटाउनुभएको थियो ।
रोजगारी गुमेपछि थमौतीका लागि गुहार्न पुगेका विष्टलाई गृहमन्त्रीले आज मन्त्रालयबाटै पक्राउ गर्न लगाउनुभएको हो । भिजिट भिसामा गैरकानुनीरुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाइएको छ । विष्टलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो ।

Comments are closed.