गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै

काठमाडौं। चितवनको नारायणगढ मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जार
आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘आज गृह मन्त्रालयका सचिवज्यू आईजीसापहरुका साथ चितवन आउँदै हुनुहुन्छ ।’
त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केहीबेर ढिला सुरु भएको थियो ।गृह मन्त्रालयका अनुसार गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ ।आइतबार ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरेर बस खोजिँदै छ । हालसम्म बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर, टेलिस्कोपको लगायतको सहायताले खोजी गरिएको थियो । तर पनि बस भेटिएको छैन ।ती बसमा ५० जनाभन्दा बढी यात्रुहरु रहेको अनुमान छ । तीन जना पौडिएर बाँच्न सफल भएका थिए ।
शुक्रबार बिहान बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस मुग्लिन–नारायणगढ सडक खण्डमा माथिबाट खसेको पहिरोले बगाउँदा त्रिशुलीमा खसेर बेपत्ता भएका थिए ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा ७ जना भारतीयसहित २४ जना र काठमाडौंबाट रौतहट जाँदै गरेको बसमा २७ जना यात्रु सवार रहेको टिकट काउन्टरको विवरणबाट देखिन्छ । तर बीच बाटोबाट थप यात्रु पनि चढेको अनुमान गरिएको छ । बस पहिरोले बगाउने क्रममा ३ जना यात्रु भागेर बाँच्न सफल भए पनि अरु बेपत्ता छन् ।
हालसम्म तीनवटा शव भेटिएका छन् । एउटा शव भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदी किनारमा र अरु दुईवटा शव नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी किनारमा भेटिएका थिए । ती शव पनि स्थानीयले देखेर सुरक्षाकर्मीलाई खबर गरेका थिए ।ती शव तिनै बसका यात्रुको रहेको अनुमान छ । शवहरु आफन्तलाई देखाएर पहिचान गरी जिम्मा लगाउने चितवनका प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
घटना भएको तीन दिन बित्दासमेत अरु शवको अत्तोपत्तो नभएपछि घटनास्थलमा भेला भएका आफन्तहरु चिन्तित छन् । उनीहरुले खोजी कार्यप्रति असन्तोष व्यक्त गरिरहेका छन् ।
तर सुरक्षा अधिकारीहरुले भने त्रिशूली नदीमा बाढीको बहाव तीव्र भएको र पानी निकै धमिलो भएकाले खोज्न कठिन हुने गरेको बताएका छन् ।

Comments are closed.