आर्थिक वर्ष ०८०/८१ मा सवारी दुर्घटनामा परेर ११५ जनाको मृत्यु

मापसे गर्नेहरुबाट १२ लाख १९ हजार राजश्व संकलन

चितवन । चितवन जिल्लामा सडक दुर्घटना बढेको छ । सडक दुर्घटनाकै कारण मानवीय क्षतिको संख्या पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा भएका ४ सय ४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका छन् भने १५० जना गम्भीर घाइते र ६८२ जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष ०७९/८० सवारी दुर्घटना ३०३ वटा भएको र ७८ जनाको मृत्यु भएको थियो ।
तर, आर्थिक वर्ष ०८०/८१ मा दुर्घटनाको संख्या बढेको छ । पछिल्लो ३ वर्षमा सबैभन्दा बढी दुर्घटना आर्थिक वर्ष ०७८/७९ मा भएको थियो । त्यतिबेला चितवनमा ५३० सवारी दुर्घटना हुँदा १४० जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७९/०८० मा जम्मा ३०३ सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ५३० वटा सवारी दुर्घटनाका घटनामा १४० जनाको मृत्यु भएको थियो भने, ९७१ जना घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीका अनुसार दुर्घटना बढ्नुको कारण धेरैजसो निर्माणाधीन सडकले पूर्णता पाएर चिल्लो सडक हुँदा सवारीको गति पनि बढेको र त्यसले दुर्घटना बढेको हो ।
गत वर्ष ४१ हजार भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ४१ हजार ९९८ सवारी साधन कारबाहीमा परेका हुन् । उनीहरूबाट ३ करोड ७ लाख ६७ हजार ५ सय राजश्व संकलन गरिएको छ ।गत वर्ष सबैभन्दा बढी मोटरसाइकलबाट १ करोड ६ लाख १६ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्रक तथा टिपरबाट ५७ लाख १४ हजार ५ सय राजश्व संकलन भएको छ । मापसे गरेर सवारी चलाउनेहरुको संख्या भने ह्वात्तै बढेको छ । अघिल्लो वर्ष ४६१ जनालाई मापसेमा कारबाही गरिएकोमा गत वर्ष १२१९ जनालाई कारवाही गरिएको छ । मापसे गर्नेहरुबाट १२ लाख १९ हजार राजश्व संकलन गरिएको छ । अघिल्लो आर्थिक वर्ष ४६१ जनालाई मापसे कारबाही गर्दा ४ लाख ६१ हजार राजश्व संकलन गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ७३९ जना मापसेको कारबाहीमा परेका थिए ।

Comments are closed.