दोलखा भीमेश्वरलाई दुई घण्टासम्म पसिना आयो , भोलि राष्ट्रपतिलाई महाप्रसाद पठाइने

काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरको शिलामा शनिबार दुई घण्टासम्म पसिना आएको छ ।

भीमेश्वरको शिलामा दिउँसो १ः४७ बजेदेखि ३ः ५१ सम्म पसिना आएको दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा शिलाको बायाँतर्फबाट पसिना आउन सुरु गरेकोमा पछि सबैतिरबाट आएको थियो ।

भीमसेनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर बाजा बजाई पूजा गरेका थिए । भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर बाजा बजाएर शिलालाई चमरले हम्कने प्रचलन रहेको छ ।

भीमेश्वरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयमा भीमेश्वरको महाप्रसाद लगिने र राष्ट्र प्रमुखबाट क्षमा पूजा गर्नुपर्ने प्रचलन छ । त्यसको लागि भोली राष्ट्रपति कार्यालयमा भीमेश्वरको महाप्रसादको रूपमा पसिना पुछेको रुवा लगिने श्रेष्ठले बताउनुभयो । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका पदाधिकारीको टोली भीमसेनको प्रसाद लिएर राष्ट्रपति कार्यालय जाने भएको छ ।

यस अघि पनि भीमेश्वरको शिलामा बारम्बार पसिना आउने गरेको छ । यो क्रम केही वर्ष यता बाक्लिँदै गएको छ ।

Comments are closed.