बारा । बारा जिल्लामा आत्महत्याको घटना पछिल्ला वर्षहरूमा डरलाग्दो रूपमा बढेको छ। प्रहरीको तथ्यांकअनुसार, पछिल्ला तीन आर्थिक वर्षमा ४२३ जनाले आत्महत्या गरेका छन्, जसमा महिलाको संख्या १६१ र बालिकाको संख्या ८० रहेको छ।
प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार, आत्महत्याका घटनामा महिलाहरु र बालबालिका बढी प्रभावित भएका छन्। बालबालिकाले समेत आत्महत्या गर्ने अवस्था आउनु गम्भीर चिन्ताको विषय बनेको छ। प्रहरीको वार्षिक घटना विवरणमा १५९ पुरुष र २३ बालकहरूले आत्महत्या गरेको उल्लेख छ।
प्रहरी नायव उपरीक्षक न्यौपानेले मान्छेले आफ्ना अपेक्षा पूरा गर्न नसक्दा विरक्तिएर आत्महत्या गर्ने गरेको बताउनुभयो। उहाँका अनुसार, पारिवारिक कलह, घरेलु हिंसा, र आर्थिक अभावका कारण पनि आत्महत्याको घटना बढेको छ। न्यौपानेले भने, “आत्महत्या गर्नेमा १० वर्षका बालकदेखि ६५/७० वर्षसम्मका मानिस छन्।”
मानव अधिकारकर्मी विदुर खड्काका अनुसार, जब मान्छेको दिमागले जिउने सबै विकल्प सकिएको ठान्छ, तब शून्यतामा पुगेर आत्महत्याको बाटो रोज्छ। खड्काले थप्नुभयो, “मान्छेले सबैभन्दा बढी महत्व दिएको कुनै कुरा गुमाउँदा पनि निराश भएर आत्महत्याको बाटो समाउँछ।”
प्रहरी नायव उपरीक्षक न्यौपानेका अनुसार, आत्महत्याका घटनामा घाँटीमा पासो लगाएर प्राणत्याग गर्नेहरूको संख्या बढी छ भने विष सेवन गरेर आत्महत्या गर्नेहरूको संख्या तुलनात्मक रूपमा कम छ। विष सेवन गर्ने ८० प्रतिशत मानिसलाई अस्पतालमा उपचार गराउँदा बचाउन सकिने देखिएको छ। परिवारमा उपयुक्त वातावरण नपाउँदा आत्महत्याका घटना बढेको न्यौपानेको भनाइ छ।
खड्काका अनुसार, आत्महत्या गर्ने व्यक्तिले अस्वभाविक क्रियाकलाप प्रदर्शन गर्छन्। “एक्लै बस्ने, कसैसँग नबोल्ने, बेसुरका कुरा गर्ने जस्ता हर्कत देखिन्छन्। त्यस्तो अवस्थामा परिवारका सदस्यले उचित मनोपरामर्श दिन सके आत्महत्या रोक्न सकिन्छ,” खड्काले भन्नुभयो।
बारा जिल्लामा आत्महत्याका घटनामा वृद्धि हुनुले समाजमा गम्भीर समस्या ल्याएको छ। यसलाई रोक्न परिवार, समुदाय, र सरकारी निकायले समन्वय गरेर काम गर्नु आवश्यक छ।
Trending Now
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
- प्रधानमन्त्री ओली स्वदेश प्रस्थान
- नेपाल शिक्षक महासंघले गर्यो आमशैक्षिक हडतालको घोषणा, एसइईकाे कपि नजाँच्न
- Russian missile strike on Ukrainian president’s hometown: 18 dead, including 9 children, 61 injured
- खोटाङमा निर्माण ११० फिट अग्लो यलम्बरको शालिक
- वायु प्रदूषणमा सुधार नआएसम्म विद्यालय बन्द गर्न विज्ञहरूको सुझाव
- काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु
Comments are closed.