‘अब यस्तो कहिल्यै नहोस् ! सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ ।

दुर्घटनामा घाइते विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझेर केएमसी अस्पतालबाट घर पुगेपछि सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले सो घटना अत्यन्त दुखद भएको उल्लेख गर्नुभएको छ । ओलीले फेसबुकमा लेख्नु भएको छ– ‘अब यस्तो कहिल्यै नहोस् १’

उहाँले उपचाररत क्याप्टेन शाक्य खतरामुक्त रहेको पनि जानकारी दिनुभएको छ । ‘बिहानको हवाई दुर्घटनामा परी घाइते हुनु भएका क्याप्टेन मनीषरत्न शाक्यको स्थिति बुझ्न केही बेर अगाडि केएमसी अस्पतालमा पुगेर फर्किएँ, उहाँलाई आइसीयूमा उपचार गरिएको छ, चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ, उहाँ खतरामुक्त हुनुहुन्छ’, ओलीले लेख्न भएको छ ।

ओलीले सो घटनाको छानबिन गर्न समिति बनाएको पनि जानकारी दिनुभएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिन गर्न पाँच सदस्सीय समिति गठन गर्ने निर्णय गरिसकेको छ । ‘सरकारले दुर्घटनामा परेर ज्यान गुमाएकाको शोकमा भोलि झण्डा आधा झुकाउने निर्णय गरेको छ र दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ’, उहाँले लेख्नु भएको छ ।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने चालक मनिषरत्न शाक्य घाइते हुनुभएको छ ।

Comments are closed.