खाद्यान्न आयातमा एक वर्षमा बाहिरियो झण्डै ३९ अर्ब, मकै मात्रै १४ अर्बको आयात

काठमाडौँ , नेपालले एक वर्षको अवधिमा खाद्यान्न (धान, मकै, कोदो, गहुँ, जौ) आयातमा मात्रै अर्बौ रकम खर्चिएको छ । गएको आर्थिक बर्षमा नेपालले चीन, भारत लगायतका देशहरुबाट ३८ अर्ब ९२ करोड ८६ लाख ५१ हजार रुपैयाँको खाद्यान्न आयात गरेको हो ।उत्पादन लागत अनुसार मूल्य नपाउँदा किसानहरुले उत्पादन गर्न छाडेका कारण कृषि प्रधान देश पनि अन्य देशसँग निर्भर हुनुपर्ने अवस्था आएको हो।
नेपालमा नै उत्पादन गर्न सकिने अन्य खाद्य बालि पनि भारत, चीन, लगायतका देशबाट नै आयात हुने गरेको छ । कृषि क्षेत्रलाई स्थानिय तथा संघीय सरकारले प्रोत्साहन गर्न नसक्दा यस्ता खाद्यवालिको आयातमा वृद्धि भएको कृषि अर्थविज्ञ रामहरी पाण्डे बताउँछन् ।
नेपाल सरकारले कृषि गर्नेलाई उचित अनुदान नदिनाले कृषक कृषि पेशाबाट नै पलायन हुँदै गएको कृषि अर्थविज्ञ पाण्डे बताउँछन् । सरकारले कृषि उत्पादनलाई बढावा दिने किसीमका योजना ल्याउन सके आयात केही हदसम्म कम गर्न सकिने उनको भनाइ छ ।\
चालु आर्थिक वर्ष (२०८०\८१) को एक वर्षमा नेपालले १४ अर्ब ६ करोड ५३ लाख ३७ हजार रुपैयाँ बराबरको ३५ करोड १ लाख २५५ केजी मकै आयात भएको छ । सोही अवधिमा नेपालले ८३ करोड २६ लाख ६५ हजार रुपैयाँ बराबरको २५ लाख १९ हजार ५०९ केजी मकैको बिउ आयात गरेको छ । मकै आयातबाट ८० करोड ९८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ । नेपालमा अर्जेन्टिना, भारत, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गर्ने गरिएको छ ।
यस्तै चालु आर्थिक वर्ष सात महिनामा मकै पछि सबैभन्दा धेरै धान आयात भएको छ । १२ अर्ब ०५ करोड ४४ लाख ७९ हजार रुपैयाँ बराबरको ३१ करोड ९० लाख ११ हजार ८५० केजी धान आयात भएको छ । उता, धानको बिउ आयातमा नेपालले ८८ करोड ६६ लाख ९ हजार रुपैयाँ खर्चेको छ । नेपालले २१ लाख ७ हजार ४९३ केजी धानको बिउ आयातमा उक्त रकम खर्चेको हो । धान आयातबाट सरकारले ६१ करोड ७१ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसैगरी नेपालले आयात गर्ने मुख्य खाद्यबालिको तेस्रो स्थानमा चामल रहेको छ । एक वर्षको अवधिमा नेपालले ९ अर्ब २८ करोड ८१ लाख ४० हजार रुपैयाँ बराबरको ८ करोड ८६ लाख ९४ हजार ४४५ केजी चामल आयात गरेको छ । चामल आयातबाट सरकारले १ अर्ब ६ करोड ३४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा भारत, इटली, थाइल्याण्ड लगायतका देशहरुबाट चामल आयात हुने गरेको छ ।
यसैगरी, नेपालमा आयात हुने खाद्यबालीको चौथौ स्थानमा गहुँ रहेको छ । चालु आर्थिक वर्षमा २ अर्ब ७३ करोड २७ लाख ६६ हजार रुपैयाँ बराबरको ६ करोड ५४ लाख ३९ हजार ३१२ केजी गहुँ आयात भएको छ । यता, ३ लाख ६१ हजार रुपैयाँ बराबरको ४६९ केजी गहुँको बिउ आयात भएको विभागको तथ्यांकले देखाएको छ । गहुँ आयातबाट सरकारले १३ करोड ७३ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, जापान, इन्डोनेसिया, भियतनामलगायतका देशबाट गहुँ आयात हुने गरेको छ ।
यस्तै, आयातको पाँचौ स्थानमा कोदो रहेको छ । नेपालमा ७५ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ९२ हजार ८२० केजी कोदो आयात भएको हो । यस्तै चालु आर्थिक वर्षमा २ लाख २८ रुपैयाँ बराबरको ५ हजार ३६३ केजी कोदोको बिउ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
सात महिनामा कोदो आयातबाट सरकारलाई ५ करोड ७१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा कोदो भारतबाट आयात हुने गरेको छ भने कादोको बिउ भारत र चीनबाट आयात हुँदै आएको छ ।
यस्तै ३ करोड ३७ लाख ३४ हजार रुपैयाँ बराबरको ८ लाख ४८ हजार १५९ केजी जौ आयात भएको छ । जसबापत १८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालमा भारतबाट जौ आयात हुने गरेको विभागले जनाएको छ ।

Comments are closed.