सरकारकाे निर्णय : राजदूत नियुक्तिदेखि सचिवहरूको सरुवासम्मको निर्णय

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूत नियुक्तिका साथै सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ देशमा नयाँ राजदूत नियुक्तिको निर्णय गरेको छ । त्यस्तै पाँच देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय बैठकले गरेको छ । चीन, रुस, अस्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाइएको छ ।
बैठकले भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अस्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गरिएको छ ।

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको छ । अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी चीनमा कृष्ण ओली, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा.नेत्र तिमल्सिना, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा धनप्रसाद पण्डित, पोर्चुगलमा प्रकाशमणि पौडेल र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ अस्ट्रेलियामा कान्ता रिजाल, स्पेनमा सनिल नेपाल र पाकिस्तानका लागि रिता धिताल सिफारिस हुनुभएको छ ।
बैठकले २२ जना सचिवको पनि सरुवा गरेको छ । अर्थ सचिवको जिम्मेवारी राजश्व सचिव डा. रामप्रसाद घिमिरेलाई दिइएको छ भने अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । अर्थ मन्त्रालमाको राजश्व सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई दिइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । श्रम मन्त्रालयको सचिवमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालाई लगिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरतमणि सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गर्दा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई राष्ट्रिय प्राकृतिक स्रोत तथा विपत् आयोगमा ल्याएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा सरुवा हुनुभएको छ । उपराष्ट्रपति कार्यालयका सचिव राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा सरुवा गरी महिलालाई महत्त्वपूर्ण मन्त्रालयको प्रशासनिक जिम्मेवारी दिइएको छ ।
जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ भने भौतिक मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद दवाडी राष्ट्रपतिको कार्यालयका सचिवमा सरुवा गर्दा डिल्लीराम शर्मा लोक सेवा आयोगमा सरुवा हुनुभएको छ । आयोगका सचिव राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साह नेपाल ट्रष्टमा सरुवा हुनुभएको छ । नेपाल ट्रष्टका सचिव प्रमीला देवी बज्राचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।
खानेपानीका सुरेश आचार्य जल तथा ऊर्जा आयोगमा, विपत् आयोगका सचिव मधुसूदन बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य) सचिवमा सरुवा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क प्रमुखमा सरुवा गरिएको छ भने तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल भूमिमा व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सुरजकुमार वैद्यको पनि सरुवा भएको छ ।
मन्त्रिपरिषद्को निर्णय भने सार्वजनिक भइसकेको छैन । सरकारले मन्त्रिपरिषद्को निर्णय तीन दिन पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरेकाले सो निर्णय सार्वजनिक नभएको हो ।

Comments are closed.