प्राकृतिक सौन्दर्यका दृश्यावलोकनको लागि नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सुन्दर प्रकृति अवलोकन नगरे जीवनको सार्थक अर्थ नहुने बताउनुभएको छ ।
विश्वका छानिएका भ्लगरहरूको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी साे ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’ को प्रिमियर सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका हिमाल, प्रकृति, नदीनाला, छहराको अवलोकन र हात्ती चढेर जङ्गल सफारी गर्दा आउने आनन्द अवर्णनीय रहेको बताउनुभयो । प्राकृतिक सौन्दर्यका दृश्यावलोकनको लागि नेपाल भ्रमण गर्न उहाँले विश्वका पर्यटकलाई आग्रह गर्नुभयो ।
प्रिमियर सो मा लुक्ला विमानस्थललाई एक खतरायुक्त विमानस्थलका रूपमा प्रस्तुत गरिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामान्यतः विश्वका सबै विमानस्थल एक प्रकारले खतराकै स्थितिमा हुने बताउनुभयो । तर लुक्ला विमानस्थलमा उडानका लागि अति तालिमप्राप्त र अनुभवी पाइलट चाहिने ओलीले प्रष्ट पार्नुभयो ।
आफू धेरै पटक विमान चढेर लुक्ला पुगेको बताउँदै ओलीले विमानस्थल खोँचमा रहेको र धावनमार्ग सानो भए पनि त्यहाँ दैनिक ८५ उडान हुने गरेका बताउनुभयो । अनुभवी पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना नभएका उहाँले बताउनुभयो । ‘त्यसकारण लुक्ला विमानस्थलमा कुनै खतरा छैन, विमानस्थल सुरक्षित छ, यसको जिम्मा म लिन सक्छु’, ओलीले भन्नुभयो ।
रियालिटी शोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्वजगतलाई चिनाउन थप मद्दत पुग्ने बताउनुभयो । ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमालहरू कञ्चनजङ्घा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरिलगायत रहेको बताउनुभयो ।
प्रिमियर सो हेर्न प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी राजदूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकारलगायत उपस्थित हुनुन्थ्यो । श्री गुरुङद्वारा निर्देशित सो रियालिटी साेमा नेपालसहित ६ देशका ११ जना १९ देखि ३० वर्ष उमेरका युवा भ्लगरहरू सहभागी छन् ।

Comments are closed.