Trending Now

यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढङ्गबाट काम गर्न सकेन भने अरू आशा गर्न सक्ने परिस्थिति हुँदैन : प्रदीप पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अहिलेको सरकार राजनीतिक शक्तिहरूको एकीकृत स्वरूप भएको बताउनुभएको छ ।
सञ्चारीका समूह नेपालले पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष लगायतलाई स्वगत गर्न आयोजना गरेको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै पौडेलले अहिलेको सरकारले पनि काम गर्न नसके कुनै पनि सरकारले काम गर्न नसक्ने बताउनुभयो । ‘अहिले कांग्रेस र एमालेको सरकार बनेको छ, झण्डै दुई तिहाइको सरकार बनेको छ, यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढङ्गबाट काम गर्न सकेन भने अब यो भन्दा बलियो फरक परिस्थितिको अनुमान गर्न सक्ने र त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिति हुँदैन’, उहाँले भन्नुभयो ।
पौडेलले नेपालको पत्रकारिता इतिहासमा पहिलो पटक नेपाल पत्रकार महासंघले पहिलो महिला अध्यक्ष पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । महिलालाई विश्वास गरेकै कारण निर्मला शर्मा साझा उम्मेदवार बन्न सफल हुनुभएको बताउनुभयो ।
महिला नेतृत्व स्थापित भएपछि परिवर्तन हुन्छ भन्ने विश्वास गर्नेलाई पनि उत्साहजनक स्थिति बनेको पौडेलले बताउनुभयो । त्यसैले यो समितिलाई असफल हुने छुट नभएको उहाँको धारणा छ ।
नेपालको लोकतन्त्र स्थापनामा सञ्चार जगतको महत्त्वपूर्ण योगदान रहेको उहाँले बताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरूको योगदान राजनीतिक दलको जत्तिकै भएको पौडेलको भनाइ छ । जोखिममा रहेका राजनीतिक नेतृत्वलाई पत्रकारिताले संरक्षण गरेको उहाँले स्मरण गर्नुभयो ।
अहिले श्रमजीवी पत्रकारको स्थिति गम्भीर भएको बताउँदै त्यसलाई सुधार गर्न सम्बन्धित क्षेत्र लाग्नु पर्ने बताउनुभयो । यसमा राज्य र नीति बनाउने मानिसहरूसँग सहकार्य गरेर पत्रकार महासंघको नेतृत्वलाई अघि बढ्न उहाँले सुझाव दिनुभयो ।

Leave A Reply

Your email address will not be published.