पहिला त्रिभुवन विश्वविद्यालय सुधार्ने हो त्यसका लागि कानून परिवर्तन गरेर भए पनि सुधार्ने हो : शिक्षामन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेर भए पनि त्रिभुवन विश्वविद्यालयको सुधार गर्ने बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को साक्षात्कारमा उनले सबै विश्वविद्यालय सुधार्न आवश्यक भए पनि सुरुमा त्रिभुवन विश्वविद्यालय सुधार गर्नुपर्ने बताइन् ।
“म के भन्छु भन्दा सबै विश्वविद्यालय सुधार्ने हो । तर, सबैभन्दा पहिला त्रिभुवन विश्वविद्यालय सुधार्ने हो । त्यसका लागि कानूनमा भएका कुराहरूलाई परिवर्तन गरेर भए पनि सुधार्ने हो । त्यसका लागि पदाधिकारीहरूलाई मैले कति सहयोग गर्नुपर्छ ? मैले आजसम्म १०० प्रतिशत भन्दिनँ ६० प्रतिशत सहयोग गरेको छु,” उनले भनिन् ।
उनले विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सबैभन्दा ठूलो भुमिका पदाधिकारीहरूले खेल्नुपर्ने बताइन् । विश्वविद्यालयका पदाधिकारीहरू राजनीतिक विचारसँग आबद्ध भएकाले नेतृत्त्वदायी भूमिका खेल्न नसकेको उनको भनाइ छ । राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसाबले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरूको बुझाइ रहेको उनले बताइन् ।
“जति पनि आजको दिनमा विश्वविद्यालयहरूमा समस्या छन्, त्यसलाई समाधान गर्न सबैभन्दा पहिलो भूमिका पदाधिकारीहरूले खेल्नुपर्छ । पदाधिकारी जतिसुकै भने पनि विचारमा आबद्ध रहनुभएको छ । कहिले अलि बढी बाहिर हल्ला होला, कहिले हल्ला नहोला साँचो कुरा त यो हो नि । होइन भने हाम्रो विश्वविद्यालयमा जाने पदाधिकारीहरू कहीँ न कहीँ राजनीतिमा संलग्न हुनुहुन्छ । किनभने पद भनेको राजनीतिले मात्र निर्माण गर्छ भन्ने बुझाइ हामीले स्थापित गरेका छौँ,” उनले भनिन् ।