‘शाइन रेसुङ्गा नेश्नल टेन के रन प्रतियोगिता’ फागुन ११ मा

काठमाडौँ – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा नेश्नल टेन के रन प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिइएको हो। ‘रन टु शाइन’ नाराका साथ आयोजना हुन लागेको दौड प्रतियोगिता बुटवलमा हुनेछ। प्रतियोगितामा राष्ट्रिय स्तरका धावकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिता तीन विधामा हुनेछ— खुला (महिला/पुरुष), स्थानीय, र ५० वर्षमाथि। कुल पाँच लाख रुपैयाँ पुरस्कार राशी रहेको यस प्रतियोगितामा खुल्लातर्फका महिला तथा पुरुष विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

एथलेटिक्सको १० किलोमिटर दौडमा राखिएको यो पुरस्कार रकम नेपालकै सर्वाधिक मानिएको छ। खुल्ला समूहमा दोस्रो हुनेले ४० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ पाउनेछन्।

त्यस्तै, स्थानीय तथा ५० वर्षमाथिका विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथोले २ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

इच्छुक धावकहरूले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वेबसाइट वा बैंकको बुटवलस्थित केन्द्रिय कार्यालयमा गएर निशुल्क नाम दर्ता गर्न सक्नेछन्।

दौड बैंकको बुटवल कालिकानगरस्थित केन्द्रिय कार्यालयबाट सुरु भई मणिग्राम चोकसम्म पुगेर पुनः बैंक परिसरमै आएर समापन हुनेछ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा आयोजना गरिनेछ भने यसको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

उनले भने, ‘काठमाडौं बाहिर केन्द्रिय कार्यालय राखेर सञ्चालन भइरहेको एक मात्र बैंक हौं। खेलकुद र समाजप्रति उत्तरदायित्व बहन गर्दै राष्ट्रिय स्तरको कार्यक्रमलाई वार्षिक इभेन्टका रूपमा अघि बढाउने योजना छ।’

Comments are closed.