बेइजिङ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत भन्सार कर लगाएपछि चीनले पनि कठोरता देखाएको छ । ‘चीन चुप लागेर बस्ने छैन,’ एक अधिकारीले भनेका छन् ।
अमेरिकाले चीनमाथि १०४ प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले पनि बदला लिएको थियो । अमेरिकाबाट आयात हुने सामानमा चीनको अर्थ मन्त्रालयले ३४ प्रतिशत भनिएको भन्सार महसुल बढाएर ८४ प्रतिशतमा पुर्याउने घोषणा गरेको छ । यसको प्रतिकारमा ट्रम्पले पनि चिनियाँ सामानहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्याएका छन् ।
‘आफ्ना जनताको अधिकार र हितलाई हानि पुर्याइरहँदा चिनियाँ सरकार कुनै पनि हालतमा चुप लागेर बस्ने छैन,’ चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ ।
व्यापारिक अत्याचारमाथि विश्वव्यापी ऐक्यबद्धताले मात्रै जित हासिल हुन सक्ने चीनको एउटा सरकारी पत्रिकाले सम्पादकीयमा लेखेको छ । यसमा जापान, दक्षिण कोरिया र अन्य एसियाली अर्थतन्त्रहरूसँग बेइजिङको सहकार्यको उल्लेख गरिएको छ । यसैबिच, चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले युरोपेली व्यापार आयुक्त मारोस सेफकोभिक र मलेसियाली व्यापारमन्त्री जाफरुल अजिजसँग वार्ता गरेका छन् ।
Comments are closed.