काठमाडौँ –आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दलका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज अन्तिम दिन हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा आजमै सकिने भएकाले सम्बन्धित दलहरूले अनिवार्य रूपमा म्यादभित्र दर्ता प्रक्रियामा सहभागी हुनुपर्नेछ ।पहिले नै आयोगमा दर्ता भइसकेका राजनीतिक दलहरूलाई समेत यस पटकको निर्वाचनमा सहभागी हुन फेरि दल दर्ता गराउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।
हालसम्म आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १३४ रहेको छ । तीमध्ये मंगलबार साँझसम्म ८० दलले निर्वाचनका लागि पुनःदर्ता गराइसकेका छन् । बाँकी दलहरूले आजको दिनभित्र दर्ता नगरे निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।






