एउटा अपराधी व्यक्तिलाई गणतन्त्र विरोधी शक्तिले पर्दा पछाडिबाट एमाले विरुद्ध उचालिरहेको छ:महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एउटा अपराधी व्यक्तिलाई गणतन्त्र विरोधी शक्तिले पर्दा पछाडिबाट एमाले विरुद्ध उचालिरहेको बताउनुभएको छ ।

मङ्सिर ७ गते एमालेका जनसंगठनले काठमाडौंमा गर्न लागेको प्रदर्शनको  तयारीका सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला समन्वय कमिटीको विस्तारित बैठकलाई सोमबार सम्बोधन गर्दै बस्नेतले ती शक्तिका पछाडि बैँक ठग्ने, लुटेरा र चोरहरू लागेका बताउनुभयो । नियोजित अराजकतावादी शक्ति एमालेको विरुद्ध संगठित ढंगले लागेका भन्दै बस्नेतले सिङ्गो पार्टी पङ्तीलाई सचेत हुन आग्रह गर्नुभयो ।

अराजक लम्पटहरूलाई कसरी तह लगाउने भन्ने कुरामा राष्ट्रिय युवा संघ नेपाल स्पष्ट रहेको बस्नेतले बताउनुभयो । देश विरोधी शक्तिलाई तह लगाउन राष्ट्रिय युवा संघ नेपालले राम्रोसँग जानेको बस्नेतले चेतावनी दिनुभयो ।

देशमा राजनीति स्थिरता कायम हुन नदिने, अराजकता मच्चाउने, विकास विरोधी तत्त्व अहिले सक्रिय भएको बस्नेतले टिप्पणी गर्नुभयो । सामाजिक सद्भावको पक्षमा नेकपा एमाले र सो पार्टीका अध्यक्ष स्पष्ट रहेको बस्नेतले बताउनुभयो । साम्राज्यवादीको आडमा अराजक तत्त्वहरू नेपालमा अराजकता मच्चाउने प्रयत्नमा लागेका भन्दै बस्नेतले सचेत गराउनुभयो ।

नेपालमा अब राजतन्त्र फर्कने कुनै सम्भावना नभएको बताउँदै बस्नेतले मङ्सिर ७ को एमालेका जनसंगठनको कार्यक्रम मूलभूत रूपमा सरकारलाई सच्याउने कार्यक्रम रहेको उहाँले प्रष्ट पार्नुभयो । सो कार्यक्रम गर्दै जाँदा धेरै अराजकतावादीको मुकुण्डो खुल्ने बस्नेतले बताउनुभयो ।

Comments are closed.