रुसी भाडाको सैनिक समूह वाग्नर पछि हट्यो, प्रमुखलाई बेलारुसले शरण दिने

काठमाडौं : रुसमा सैन्य विद्रोहबाट पछि हटेका भाडाको सैन्य समूह वाग्नर ग्रुपका प्रमुख येभ्गेनी प्रिगोजिनले रुस छोड्ने भएका छन्।

 

 

हिजो दिनभरको तनावपछि साँझ भएको बेलारुससँगको छलफलअनुसार उनले रुस छोड्ने र बेलारुस जाने सहमति भएको हो।  साथै रुसी सहरहरु कब्जा गर्न अघि बढेको वाग्नर ग्रुप पनि सहरहरुबाट फिर्ता भएको छ। रुसले वाग्नर ग्रुपको सम्भावित विद्रोह रोक्न सहयोगी देश बेलारुसलाई मध्यस्थताको जिम्मेवारी दिएको थियो।

बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले वाग्नर समूहलाई विद्रोहबाट पछि हट्न सहत गराएका थिए। रुसको रोस्तोभ सहर नियन्त्रणमा लिइसकेको वाग्नर समूह त्यहाँबाट पछि हटेको छ भने अब उसले यसअघि जस्तै रुसी सेनाको सहयोगीका रुपमा काम गर्नेछ।

रुसले वाग्नर समूहको सुरक्षाको प्रतिबद्धता गरेको छ। यसअघि युक्रेन युद्धमा अग्रपंक्तिमा लडेको वाग्नर ग्रुपमाथि रुसी सेनाले मिसाइल प्रहार गरेपछि वाग्नर भड्किएको थियो। वाग्नर कमाण्डर प्रिगोजिनले न्यायका लागि भन्दै रुसी सैनिकविरुद्ध नै विद्रोहको उद्घोष गरेका थिए।

Comments are closed.