सुडानबाट करिब दुई लाख मानिस विस्थापित

जेनेभा  । सुडानबाट अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वबाट बच्न करिब दुई लाख मानिस भागेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

“सुडानमा हिंसा चौथो हप्तासम्म जारी रहँदा सुडानी शरणार्थीसहित स्वदेश फर्केकाहरू गरी कूल दुई लाख व्यक्ति विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका प्रवक्ता ओल्गा सारडोले जेनेभामा पत्रकारहरूलाई बताए ।

सुडानमा गत अप्रिल १५ मा सुरु भएको द्वन्द्वका कारण थप सात लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले जनाएको छ । सुडानमा ७५० भन्दा बढीको मृत्यु भएको र लाखौँ विस्थापित हुने गरी भएको द्वन्द्व सुरु भएको करिब एक महिनापछि बिहीबार साउदी अरबको जेद्दाह सहरमा भएको वार्तामा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

वार्तामा उनीहरू युद्धविरामका लागि सहमत भएका छैनन्, तर उनीहरूले नागरिकहरूको रक्षा गर्ने कसम खाएका छन्, र गरिब देशमा सहायतालाई लक्षित गरी लुटपाट र आक्रमणपछि अति आवश्यक मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका सुडानका दूत भोल्कर पर्थेसले यो सम्झौता ‘पारस्परिक प्रतिबद्धता’ को प्रतीक भएकाले महत्त्वपूर्ण रहेको बताए । “मलाई लाग्छ यो पहिलो कदम हो र एक महत्त्वपूर्ण पहिलो कदम हो,” उनले पोर्ट सुडानबाट भिडियो लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग भने । विशेष गरी दुवै पक्षले अमेरिका र साउदी मध्यस्थताअन्तर्गत ‘वार्ता जारी राख्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

“युद्धविरामसम्बन्धी वार्ता आज वा भोलिबाट फेरि सुरु हुने अपेक्षा गरेका छौं,” उनले भने । यद्यपि तत्काल केही पनि परिवर्तन हुने देखिएन र दुई प्रतिद्वन्द्वी जनरलको फौजले शुक्रबार खार्तुममा फेरि गोली चलाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफले सुडानको राजधानीमा कुपोषणविरुद्ध लड्न उपचारात्मक खाना उत्पादन गर्ने कारखाना जलेर नष्ट भएको र १४ हजार ५०० बालबालिकाको जीवन रक्षक उपचार नष्ट भएको चेतावनी दिएको छ ।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले जेनेभामा पत्रकारसँग भने, “यो द्वन्द्वले बालबालिकाको जीवनलाई विभिन्न माध्यमबाट कसरी खतरामा पार्छ भन्ने कुराको यो अहिलेसम्मको सबैभन्दा अँध्यारो र विशिष्ट दृष्टान्त हो ।”

सार्राडोका अनुसार सुडानबाट भाग्नेमा बालबालिकाको सङ्ख्या पनि बढी छ । हालैका दिनहरूमा करिब ३० हजार शरणार्थीहरू चाड आइपुगेको र हालैका हप्ताहरूमा सुडानबाट आएका शरणार्थीहरूको सङ्ख्या ६० हजार पुगेको उनले बताए ।

“लगभग ९० प्रतिशत शरणार्थीहरू बालबालिका र महिलाहरू छन्, जसमा धेरै गर्भवती महिलाहरू पनि छन्,” उनले थपे । उनका अनुसार छ महिनादेखि पाँच वर्ष उमेर समूहका २० प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ ।-(रासस/एएफपी)

Comments are closed.