काठमाडौं : एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार बहराइनले सिंगापुरलाई १३२ रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको छ।
जितसँगै बहराइनले २ अंक जोड्यो भने लगातार दोस्रो खेलमा पराजित सिंगापुर शून्य अंकमै छ। सिंगापुरलाई पहिलो खेलमा हङकङले ८ विकेटले पराजित गरेको थियो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘बी’ अन्तर्गत आज भएको खेलमा बहराइनले दिएको २८७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ४३ ओभर १ बलमा अलआउट हुँदै जम्मा १५४ रनमात्र बनाउन सक्यो।
निर्धारित ५० ओभरमा बहराइनले ८ विकेट गुमाएर २८६ रन बनाएपछि सिंगापुरले २८७ रनको लक्ष्य पाएको थियो।
सिंगापुरका लागि सुरेन्दर चन्द्रमोहनले ६६ बलमा ४ चौका र १ छक्का हान्दै सर्वाधिक ५१ रन बनाए। विनोथ बसकरणले २३, थिलिपन ओमाइदुराईले २०, कप्तान अरित्र दत्त र रोहन रंगाराजनले ११/११ र अब्दुल रहमानले १० रन जोडे।
सातौं विकेटका लागि चन्द्रमोहन र बसकरणले ५९ रनको साझेदारी गरे।
बहराइनका लागि इमरान अनवरले ४, रिजवान बटले ३, अब्दुल माजिदले २ र अली दाउदले १ विकेट लिए।
बहराइनका लागि फियाज अहमद र शहबाज बदरले अर्धशतकीय पारी खेले। फियाजले ७९ तथा शहबाजले ७६ रन जोडे। सोहेल अहमदले ४६, हैदर बटले २९ तथा मुहम्मद युनिसले २३ रन र जुनैद अजित ११ रनमा नटआउट रहे।
सिंगापुरका रमेश कालिमुथु, थिलिप्पन ओम्दुराई र विनोद बस्करणले २/२ विकेट लिए।
Comments are closed.