मुसिकोट बोलेरो जीप दुर्घटनामा ३ जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् । मुसिकोट-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटना भएको हो ।

गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका-५ कालीगौडीका २७ वर्षीय सौगात बिक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका-८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका-५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिए । प्रहरी निरीक्षक शाहीका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका-५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिए । विक र खनालको अवस्था गम्भीर छ । उनीहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । अर्का घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको प्रहरीले जनाएको छ ।

Comments are closed.