रोल्पा जीप दुर्घटना: ७ जनाको मृत्यु

काठमाडौं । रोल्पामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए ।लिवाङ जिल्ला अस्पतालमै रहेका प्रमुख जिल्ला अधिकारी रायमाझीले अनलाइनखबरसँग भने, ‘कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ । चालक सहित ८ जना घाइते छन् ।’
मृतकहरुको सनाखत नभएको उनले बताए ।माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानान सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ । ‘केही घाइतेहरु हेर्दा सामान्य देखिए पनि भित्री चोट हुनसक्छ । यहाँ जाँच गर्ने उपकरणहरु छैनन् । त्यही भएर भैरहवा रिफर गर्ने तयारी भइरहेको छ,’ प्रजिअ रायमाझीले भने ।पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जीप रोकिएको र ब्याक गर्ने क्रममा भीरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

Comments are closed.