बालेनविरुद्ध अधिवक्ता वर्षा कुमारी झाले हालिन् सर्वोच्चमा रिट

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मेयर शाहविरुद्ध अधिवक्ता वर्षा कुमारी झाले अदालतको अवहेलना गरेको भन्दै शुक्रबार रिट दायर गरेकी हुन्।

भारतीय फिल्म आदीपुरुष सञ्चालन गर्न अदालतको आदेशपछि बालेनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका थिए।

जानकी भारतीय छोरी हुन् भन्ने विषयवस्तु रहेको भन्दै बालेनले उक्त फिल्म काठमाडौंमा चलाउन नदिने निर्णय गरेका थिए। उनको निर्णय सर्वोच्चले बदर गरेपछि उनले कानुन र अदालत नमान्ने विवादास्पद टिप्पणी गरेका थिए।

बालेनले प्रतिबन्ध लगायपछि फिल्म हल सञ्चालकले उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले फिल्म सञ्चालकका पक्षमा आदेश दिएको छ।

उनले आफू जुनसुकै सजाय भोग्न तयार रहेको तर फिल्म चल्न नदिने अडान राखेका थिए।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘ जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ। यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’

उनको यही विषयले अदालतको अवहेलना गरेको भन्दै रिट परेको हो। आदीपुरुष फिल्म शुक्रबारदेखि काठमाडौंमा पनि सञ्चालनमा आएको छ।

Comments are closed.