नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सँग पछिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिँदै नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ ।

नेपालले मुलपानी क्रिकेट मैदानमा शुक्रबार आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा युएईलाई आठ विकेटले हराउँदै सन् २०२४ को ट्वान्टी–२० विश्वकपमा छनोट भएको हो ।

अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि आईतवार नेपालले ओमानसँग प्रतिष्पर्धा गर्नेछ । सन् २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको नेपालले अब सन् २०२४ मा वेस्ट इण्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप खेल्नेछ ।

१३५ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा १७.१ ओभरमा पूरा गर्याे । नेपालको जितमा आसिफ शेखले ६४ रन र रोहितकुमार पौडेल ३४ रनमा अविजित रहँदै जित दिलाए ।

तेस्रो विकेटका लागि आसिफले कप्तान रोहित पौडेलसँग ६८ रनको साझेदारी गर्र्दै १७ बल अगावै जित निकाले । आसिफले ५० बलमा सात चौका र दुई छक्का हिर्काए । रोहितले २१ बल खेल्दै समान दुई चौका र छक्का प्रहार गरे । शुरुदेखि इनिङ समालेका आसिफले करियरको चौथो अर्धशतक प्रहार गरे ।

त्यसअघि सामान्य लक्ष्य पछ्यााएको नेपालले तेसो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेललाई ११ रनमै गुमाउन पुग्यो । त्यसपछि ब्याटिङमा आएका गुल्सन झाले २२ रन जोड्दै आसिफलाई साथ दिए ।

उनले आसिफसँग ४१ रनको साझेदारी गरे । तर, ९.३ ओभरमा बसिल हामिदले उनलाई आउट गर्दै साझेदारी तोडे । गुल्सनले २४ बलमा तीन चौका हिर्काए । तर, आसिफले कप्तान रोहितसँग राम्रो साझेदारी गर्र्दै जित दिलाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले राम्रो शुरुवात गरे पनि नेपाली बलरले लयमा फर्कंदै पाहुना टोलीलाई सस्तैमा रोके ।

युएईले निर्धारित २० ओधरमा ९ विकेट गुमाउँदै १३४ रनको मध्यम योगफल बनाए । युवा ब्याटर भ्रित्य अरविन्दले ६४ रन जोड्दै युएईको इनिङ समाले । कुशल मल्लको बलमा आउट हुनुअघि उनले आठ चौका र दुई छक्का प्रहार गरे । त्यसअघि पावर प्लेमा युएईले दुई विकेट गुमाए पनि ४१ रन जोडेको थियो ।

चौथो ओभरमा नै नेपालले कप्तान मोहम्मद वासिम र खलिद साहलाई आउट गरेको थियो । तिब्र गतिका बलर सोमपाल कामीले एक छेउबाट राम्रो ब्याटिङ गरेका ओपनर वासिमलाई २६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । वासिमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । सोही ओभरको पहिलो बलमा साह ३ रनमा रनआउट भएका थिए । तर, तेस्रो विकेटका लागि अरविन्दले अर्का अनुभवी ब्याटर आसिफ खानसँग ३२ रनको साझेदारी गर्दै इनिङ उकासे । तर, ९.६ ओभरमा सन्दीपले आसिफलाई १३ रन एलबिडब्लु आउट गर्दै तेस्रो सफलता दिलाए ।

त्यसपछि अलिसान सरफुले १६ रन जोडे पनि त्यसबाहेक ब्याटरले अरविन्दलाई साथ दिएनन् । सन्दीप लामिछाने र कुशल मल्लले विकेटसँगै अन्तिम तीन ओभरमा उत्कृष्ट बलिङ गरे । सन्दीपले १८ औं ओभरमा एक विकेटसँगै मेडन राखे । २० औं ओभरमा कुशलले दुई विकेटसँगै पाँच रन दिए र युएईलाई राम्रो योगफलबाट रोके ।

समग्रमा उनले तीन ओभरमा तीन विकेट लिँदा ११ रन खर्चिए । सन्दीपले चार ओभरमा एक मेडनसहित दुई विकेट लिँदा १४ रन मात्र खर्चिए । सोमपाल र रोहितको नाममा एक विकेट रह्यो ।

Comments are closed.