इलाका प्रहरी कार्यालय लिमि ८ महिनापछि पुनःसञ्चालन

हुम्ला । चिसो बढेपछि गत कार्तिकमा बेँसी सारिएको इलाका प्रहरी कार्यालय लिमि पुनः सञ्चालन भएको छ । चिसो बढेपछि चिनियाँ सिमावर्ती क्षेत्र लिमीमा स्थापना गरिएको इलाका प्रहरी कार्यालय गत कार्तिकमा सदरमुकाम सिमकोट स्थानान्तरण गरिएका थिए ।
चीनको स्वशासीत क्षेत्र तिब्बतसँग जोडिएको हिमाल पारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिका-६ लिमीको सुनखानीमा रहेको इलाका प्रहरी कार्यालय बुधबारबाट पुन सञ्चालनमा आएको हुम्ला प्रहरी प्रमुख डीएसपी रबिन्द्र खनालले बताउनुभयो ।प्रतिकुल मौसमका कारण गत वर्ष कार्तिक १५ गते इलाका प्रहरी कार्यालय लिमीमा रहेको जनशक्ति जिल्ला प्रहरी कार्यालय हुम्लामा मर्ज भए पश्चात जनशक्ति पुगेसँगै बुधबारबाट पुनःस्थापना भइ दैनिक काम कारबाहीका साथै प्रहरी सेवाहरु समेत सञ्चालन भएको डीएसपी खनालले जानकारी दिनुभयो ।
हिउँदमा मानिस आउन-जान बन्द हुने सीमा सुरक्षाका लागि खटिएका प्रहरीलाई रासन-पानीको पनि समस्या हुने हुँदा प्रहरीलाई सदरमुकाम सिमकोट सारिएको हो । चीनले हिल्सा नाका खोलेसँगै हिल्सामा रहेको इलाका प्रहरी कार्यालय हिउँमा पनि सञ्चालन गरिएको थियो ।
गत कार्तिकमा सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको इलाका प्रहरी कार्यालय लिमि बन्द भएको ८ महिनापछि बुधबार पुनः स्थापना गरी सञ्चालनमा ल्याएको छ । कार्यालय पुनःस्थापनसँगै नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रणमा सहयोग हुने प्रमुख खनालको भनाइ छ । इलाका प्रहरी कार्यालय सुनखानीमा ११ जना प्रहरी कार्यरत छन् ।

Comments are closed.