‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ’

काठमाडौँ । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्तले कूटनीतिक विवाद सिर्जना हुने बताएका छन् ।

नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई त्यस भित्तेचित्रमा भारतले आफ्नै भू-भाग जसरी दर्साउँदा द्विपक्षीय सम्बन्धमा दरार ल्याउने बताएका हुन्।

मंगलबार सामाजिक सञ्जाल ट्विटमा भनेका छन्, ‘यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगार्छ। विश्वासको सङ्कटलाई अझ बढाउने सम्भावना छ, भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको अभिप्राय र सन्देशलाई बेलैमा बताउनु उपयुक्त हुन्छ।’

गत आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  उद्घाटन गरेको नयाँ संसद् भवनमा नेपाली भूभागसमेत समेटेर अखण्ड भारतको नक्सा अंकित गरिएपछि विवाद सतहमा आएको हो। उक्त नक्सामा अखण्ड भारत भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मका भूभाग समेटिएका छन्।

भारतको हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले अखण्ड भारतको धारणाले भौगोलिक अविभाजित भारतको प्रतिनिधित्व गर्ने बताउँदै आएको छ।

तर, नेपाली भूमिलाई अखण्ड भारतको नक्सामा अंकित गरिएको विषयमा नेपालको कुनै औपचारिक प्रतिक्रिया आएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा भएको यो क्रियाकलापबारे प्रधानमन्त्रीले भारतीय पक्षबाट स्पष्टीकरण माग्नुपर्ने कुटनीतिज्ञले विरोध जनाएका छन्।
पूर्व प्रधानमन्त्री भट्टराईले यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई बिगारेको पनि उल्लेख गरेका छन्।  उनले भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै बताउनु पर्ने उल्लेख गरेका छन्।

भारतले यसअघि २०७६ सालमा पनि नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नक्सा सार्वजनिक गरेको थियो। त्यसपछि नेपालले पनि ती क्षेत्रलाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीचको सम्बन्ध चिसिएको थियो।

 

Comments are closed.