सुन तस्करी काण्डकाे अनुसन्धानका लागि तत्काल जाँचबुझ आयोग गठन गरियोस्: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि तत्काल जाँचबुझ आयोग गठन गर्न माग गरेकाे छ ।

बुधबार बसेको रास्वपा संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकले भदौ ६ गते भएकाे पूर्व सहमति अनुसार तत्काल आयाेग गठन गरी कार्यादेश तोक्न सरकारसँग माग गरेकाे हाे ।

रास्वपाले समिति गठनका लागि सरकार, सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा उमालेकाे ध्यानाकर्षण समेत गराएकाे छ । पूर्व निर्धारित सहमति अनुसार सुन तस्करी जाँचबुझ गर्न समिति बनाउने सहमति उल्लंघन भएको बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले बिहीबार निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । ‘भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच सुन तस्करी प्रकरणको थप छानबिनका लागि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो, तर सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको छ, भदौ ६ गतेको सहमतिअनुसार समिति गठन गरी कार्यादेश तोक्नुपर्नेमा सत्ता र प्रमुख प्रतिपक्ष नै आरोप-प्रत्यारोपमा उत्रिँदा सो सहमति कार्यान्वयन नहुने हो कि भन्ने आशंका उब्जिएको छ, तसर्थ हस्ताक्षरकर्ता दलको नाताले भदौ ६ गतेको सहमतिअनुसार अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै उच्चस्तरीय समिति तत्काल गठन गरी कार्यादेश तोक्न सरकारसँग माग गर्दछ’- विज्ञप्तिमा उल्लेख छ ।

Comments are closed.