खेलाडी पहिचानकाे लागि एन्थ्रोपो मेट्रिक अनुसन्धान

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाली खेलकुद इतिहासमा एन्थ्रोपो मेट्रिक अनुसन्धान सुरु गरेको छ ।
खेलकुद विज्ञानमा आधारित रहेर तलदेखि नै खेलाडीको पहिचान गरी राष्ट्रलाई योगदान दिने भावी खेलाडीको पहिचान गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धानको सुरुआत गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।
विभिन्न जातजाति र भौगोलिक अवस्था अनुसार खेलाडीको क्षमता पहिचान गर्न तथा १३ देखि १५ वर्ष उमेर समूहका युवाहरूको शारीरिक बनोटको पहिचान गरी उनीहरूलाई उपयुक्त हुने खेलको छनोटका लागि सहजीकरण गर्ने उद्देश्यले एन्थ्रोपो मेट्रिक अनुसन्धान गरिएको हो । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशको विभिन्न जिल्लामा त्यसको अनुसन्धान गरिएको थियो ।
नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक कृष्ण तिमिल्सिना, खेल विज्ञ कुमारी हिरा पन्त र सहायक प्रथम शिवराज भट्टको टोलीले स्थानीयसँग समन्वय गरी अनुसन्धान गरेको हो ।
सुदूरपश्चिमको कञ्चनपुर र डडेल्धुरा, कर्णालीको सुर्खेत र सल्यान, लुम्बिनीको दाङ र बाँके, गण्डकीको कास्की र बाग्लुङ, मधेसको धनुषा र सिरहा, कोसीको सुनसरी र सोलुखुम्बु तथा वाग्मतीको काठमाडौं र चितवनमा अनुसन्धान गरिएको छ ।
अनुसन्धानमा थारु, मगर, ब्राहमण, क्षेत्री, थकाली, गुरुङ, तामाङ, दलित समुदायका १३ देखि १५ वर्ष उमेर समूहका ८ सय ५० बालबालिका समावेश थिए ।
सोही टोलीले सातवटै प्रदेशका विभिन्न जिल्लामा परम्परागत खेलको अनुसन्धान पनि गरेको छ । कुन स्थानमा कुन÷कुन परम्परागत खेल खेलिँदै आएको छ भन्ने तथ्याङ्क सङ्कलन गरी सो क्षेत्रमा ती खेलको विकास र विस्तार गरेर परम्परागत खेलको जगेर्ना गर्ने उद्देश्यले अनुसन्धान गरिएको हो ।
यसका लागि २५ देखि ८५ वर्ष उमेर समूह, लामो समयसम्म खेलकुदमा सक्रिय, विश्वविद्यालयका प्राध्यापक तथा पदाधिकारीहरूको समूहबाट परम्परागत खेलका विषयमा जानकारी लिइएको थियो ।
टोलीले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई बिहीबार प्रतिवेदन बुझाएको छ । घिसिङले यो अनुसन्धानले नेपाली खेलकुदमा एउटा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।

 

Comments are closed.